काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको उल्लेख गरेका छन्।
खनालले फेसबुकमा लेखेका छन्, “महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभएको छ।”
आगामी निर्वाचनलाई लक्षित गर्दै सरकारका अन्य मन्त्रीहरूले पनि यसअघि राजीनामा दिइसकेका छन्। निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले पहिल्यै पद त्याग गरिसकेका छन्।
यसैबीच, मन्त्री पदमै रहँदै ‘उज्यालो नेपाल पार्टी’ गठन गरेका कुलमान घिसिङ पनि सर्वप्रथम मन्त्री पदबाट राजीनामा दिएर केही दिनयता सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्।

