नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ता गराएका छन्। माओवादी आन्दोलनको ऐतिहासिक आधार क्षेत्र मानिने रुकुम पूर्वबाट उनले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि साझा संकल्प आवश्यक रहेको बताए। उनले आसन्न निर्वाचनमा तारा चुनाव चिह्नमा मतदान गर्न सम्पूर्ण नेपाली जनसमुदायलाई अपिल गरेका छन्।
‘हाम्रो क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला रुकुम पूर्वबाट मैले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छु,’ प्रचण्डले भने, ‘यसै अवसरमा देशभर तारा चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गराउनु भएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
उनले भ्रष्टाचारविरुद्ध कठोर संघर्ष गर्दै सामाजिक न्याय, समृद्धि र समानताको आधारमा नयाँ नेपाल निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए। ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु,’ उनले भने।
प्रचण्डको उम्मेदवारी दर्तासँगै रुकुम पूर्वमा चुनावी माहोल थप तातिएको छ भने नेकपाले देशव्यापी रूपमा चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ।

