काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि श्रेष्ठले जनताको अधिकार, सुशासन र सामाजिक न्यायका पक्षमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए। यसपटक उक्त क्षेत्र राजनीतिक रूपमा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका थिए। लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय श्रेष्ठको उम्मेदवारीसँगै सर्लाही–३ को चुनावी माहोल थप तातिने देखिएको छ।

