नेपाली सामाजिक उपन्यास विधामा सर्वप्रथम मदनपुरस्कार प्राप्त गर्नुभएका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले ‘ लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार ‘ यसपटक नेपाली साहित्य र हास्यव्यङ्ग्य विधाको श्रीवृद्धिमा लामो समयदेखि उल्लेखनीय सेवा गर्दै आउनुभएका श्री नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । भोजपुरमा जन्म भई हाल काठमाडौं मनपा वडा नं १४ कलंकीमा बस्दै आउनुभएका उहाँले २०५७ सालमा त्रिविविबाट नेपाली विषयमा एमए गर्नुभएको हो । विभिन्न शैक्षिक संस्थामा प्राध्यापन गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, लगायत विभिन्न पत्रिकाको कार्यकारी सम्पादकमा समेत योगदान गर्नुभएको छ । दर्जनौ साहित्यिक संस्थामा संलग्न रही कार्य गर्नुभएका उहाँले हास्यव्यङ्ग्य सम्बन्धी ७, गैर हास्य ५, गीतिकाव्य , शोककाव्य, लेखन तथा सहलेखनमा थुप्रै पुस्तक प्रकाशित गरिसक्नुभएको छ ।
। अढाई दर्जनभन्दा बढी संस्थाबाट सम्मान प्राप्त गरिसक्नुभएको उहाँले फित्कौली डट कम अनलाइन पत्रिका समेत सञ्चालन गर्नुका साथै विभिन्न संघ
संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।लीलाध्वज थापा साहित्य प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै दश हजार नगद राशि सहित सम्मान पत्रले सम्मानित गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा जानकारी गराइएको छ । उक्त पुरस्कार / सम्मान यही २०८२ पौष १९ गतेका दिनमा एक समारोहको आयोजना गरी प्रदान गरिने समेत जनाइएको छ ।

