जयराम बिडारी
काठमाडौं, वैशाख १२ — हरेक महिनाको दोस्रो शनिबार विभिन्न स्थानमा आयोजना हुँदै आएको घुम्ती कवि गोष्ठीको १६१औँ श्रृङ्खला यसपटक काठमाडौंको गोठाटार–ओपिटार क्षेत्रमा भव्य रूपमा सम्पन्न भएको छ।
बद्रीप्रसाद पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार खोलाघरे साहिँलो गंगाप्रसाद अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा पत्रकार, समीक्षक तथा उपप्राध्यापक घनेन्द्र ओझा, सुसेली अभियानका अभियन्ता दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ तथा अच्युतप्रसाद पौडेल ‘चिन्तन’ लगायतको विशेष आतिथ्य रहेको थियो।
कार्यक्रमको उद्घाटन ओमप्रसाद कोइरालाको कविता वाचनबाट गरिएको थियो। सो अवसरमा डा. ध्रुवप्रसाद आचार्यले आफूहरू पौडी खेलेर हुर्किएको पुरानो सार्वजनिक पोखरी रहेको स्थानमा हाल महाकाली मन्दिर निर्माण भई पावन स्थल बनेको उल्लेख गर्दै, राष्ट्रिय रूपमा परिचित साहित्यकारहरूको उपस्थितिमा यस्ता भव्य कार्यक्रम आयोजना गर्न पाउँदा सन्तोष लागेको बताए।
कार्यक्रममा ध्रुवराज थापाले समसामयिक भाव बोकेको कविता प्रस्तुत गरे भने मिशन अधिकारीले गजल वाचन गरे। त्यसैगरी चेवन बस्नेतले पञ्चचामर छन्दमा कविता, प्रमोद भण्डारीले मुक्तक, जयराम बिडारीले मुक्तक तथा रुबि सक्याले कविता वाचन गरेका थिए। वसन्त रिजालले सुझावसहित गीत प्रस्तुत गरेका थिए।
गोपाल बरालले ‘नेता चाहियो’ शीर्षकको व्यंग्यात्मक कविता प्रस्तुत गर्दा प्रमोद नेपालले मुक्तक सुनाए। काशीराज पुडासैनी, स्थानीयवासी मोनिका केसी तथा आरुपी फाक्लुपाले हाइकु र कविता वाचन गरेका थिए,भने स्थानीय रमा पुडासैनीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले मन्दिरको थप विकास र व्यवस्थापनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। अच्युतप्रसाद पौडेल ‘चिन्तन’ ले प्रवचनसहित कविता वाचन गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए।
पत्रकार तथा साहित्यकार उपप्राध्यापक घनेन्द्र ओझाले यस क्षेत्रमा थुप्रै साहित्यकारहरूको बसोबास भए पनि अपेक्षाकृत न्यून उपस्थितिप्रति खिन्नता व्यक्त गर्दै नगर वाङ्मय प्रतिष्ठानको आवश्यकता औँल्याए। उनले गजल वाचन समेत गरेका थिए।
दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ ले घुम्ती कवि गोष्ठी नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए। प्रमुख अतिथि गंगाप्रसाद अधिकारी ‘ खोलाघरे साहिंलोले अप्रत्याशित रुपमा प्रमुख अतिथिको भूमिका निभाउनु परेकामा आयोजक प्रति आभार व्यक्त गर्दै वाचित रचनाहरुमा समीक्षात्मक भूमिका निभाए ।उनले वसन्ततिलका छन्दमा कविता वाचन गर्दै कार्यक्रमलाई थप साहित्यिक उचाइ दिएका थिए।
सभापति बद्रीप्रसाद पुडासैनीले महाकाली मन्दिर २०७८ साल भदौ २१ गते निर्माण सम्पन्न भएको जानकारी दिँदै यस्ता साहित्यिक कार्यक्रमले स्थानीय क्षेत्रको सांस्कृतिक पहिचान बलियो बनाउने विश्वास व्यक्त गरे।
घुम्ती कवि गोष्ठीका कार्यसमिति पदाधिकारी समेत रहेका रामकुमार पण्डितद्वारा सहजीकरण गरिएको कार्यक्रम साहित्यिक, सांस्कृतिक र सिर्जनात्मक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

