काठमाडौँ। युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा डा लेखप्रसाद निरौला चयन भएका छन् । प्रतिष्ठानको १२औँ साधारणसभाले प्रा.डा. लेखप्रसाद निरौलाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
बिहिबार काठमाण्डौ प्रदर्शनीमार्गस्थित वाल्किकी विद्यापिठमा आयोजित साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिप्रति विश्वास र जिम्मेवारी प्रदान गरेकोमा प्रतिष्ठानले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।

प्रमुख अतिथि गिरीका साथ नवनिर्वाचित कार्यसमिति लगायत सहभागी । तस्विर: लेख निरौलाको फेसबुकबाट साभार
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नन्दु उप्रेती, उपाध्यक्षमा मदनबहादुर थापा, महासचिवमा डा. हरिप्रसाद सिलवाल, सचिवमा दुर्गामोहन श्रेष्ठ, कोषाध्यक्षमा डा. रत्नावली शर्मा रहेका छन् ।
कार्यसमितिको सदस्यमा डा. फणीन्द्रराज निरौला, राममणि ढुङ्गेल, डा. प्रतिभा पुन, ज्ञानु विद्रोही, अनिलप्रकाश मिश्र रहेका छन् ।
वरिष्ठ उपाध्यक्ष उप्रेती अघिल्लो कार्यसमितिका महासचिव हुन् ।
नारी स्रस्टा प्रतिष्ठानको अध्यक्षमा कहिले ?
निवर्तमान कोषाध्यक्ष जयन्ता पोखरेलले ‘प्रतिष्ठानले महिला अध्यक्ष कहिले पाउँछ ?’ भन्दै निर्वचन समितिसामु प्रश्न गरेकी थिईन् । प्रतिष्ठान गठन भै १२ औं साधरण सभा सम्पन्न हुँदा हालसम्म नारी स्रस्टा अध्यक्ष भएका छैनन् ।
प्राडा जिवेन्द्रदेव गिरी, शान्ता मानवी र वासुदेव अधिकारीको तीन सदस्यीय निर्वाचन समितिसामु पोखरेलले प्रश्न उठाएपछि निर्वाचन समितिका सचिव साहित्यकार वासुदेव अधिकारीले ‘उचित समयमा पाउने’ जवाफ दिए ।
बन्दशत्रमा निवर्तमान महासचिव नन्दु उप्रेतीले प्रतिष्ठानको प्रतिवेदन पेश गरे भने निवर्तमान कोषाध्यक्ष जयन्ता पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
बन्दशत्र अघि साहित्यकार प्राडा जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको थियो । डा फणिन्द्रराज निरौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न व्यक्तित्वले गणतन्त्रवादी प्रथम कवि युद्धप्रसाद मिश्रको कृतित्व, व्यक्तित्व एवम् वैचारिक योगदानबारे विशद चर्चा गरेका थिए ।

