काठमाडौँ। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा संवैधानिक निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए। साथै उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। हाल उनी प्रतिरक्षा विश्वविद्यालयका अध्यक्षसमेत हुन्।

