काठमाण्डौ । हुम्लास्थित सर्केगाड गाउँपालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
सर्केगाड गाउँपालिका–२ रिपमा गएराति करिब १ बजे आगलागी भएको हो।
आगलागीमा परी स्थानीय लैबा फडेरा र उनकी श्रीमती बम्बु घाइते भएका छन्। उनीहरूको उपचार सिमकोट अस्पतालमा भइरहेको छ र चिकित्सकका अनुसार दुवैको अवस्था नाजुक रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए।
रातिको समय भएकाले आगो नियन्त्रणमा लिन केही समय लागेको भए पनि आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। साथै रमेश महताराको घरमा रहेका सामग्री पनि आगलागीका कारण जलेर नष्ट भएको छ।
आगलागीको कारण तथा क्षतिको यकिन विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

