काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच सहज बनाउने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र डीएआई–उदय परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन्।
समझदारीपछि कोशी प्रदेशमा सञ्चालित साना तथा लघु व्यवसायलाई सहजरूपमा कर्जा प्रवाह हुने र लगानीको अभावका कारण व्यवसाय विस्तार गर्न नसकेका उद्यम तथा उद्यमीलाई व्यवसाय विस्तारका साथै रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
सम्झौताअनुसार डीएआई–उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैंकका कोशी प्रदेशस्थित सबै शाखा कार्यालयबाट सहजरूपमा कर्जा सुविधा प्राप्त गर्नेछन्।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगसहित डीएआई–उदय परियोजना कोशी प्रदेशका सबै जिल्लामा सञ्चालन हुँदै आएको छ। परियोजनाले नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा कर्जाको पहुँच विस्तार र व्यवसायिक उन्नतिका लागि वित्तीय स्रोतमा सहज वातावरण सिर्जना गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ।

