काठमाण्डौ। मुग्लिन बजारमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु भएको छ। चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा महोत्सव शुरु भएको हो।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए। उनका अनुसार प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहेका छन्।
महोत्सवमा इच्छाकामना क्षेत्रका सुन्तला उत्पादन गर्ने करिब १०० किसानले सहभागिता जनाएका छन्। यसबाट उनीहरूले आफ्ना उत्पादनको प्रत्यक्ष लाभ लिन सक्ने आयोजकको विश्वास छ। साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा पनि महोत्सवले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवअन्तर्गत सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिबीच अन्तर्क्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तला खेती गर्ने किसान लक्षित विविध कार्यक्रम आयोजना गरिएको छ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सुन्तला उत्पादनबाट यस क्षेत्रका बासिन्दाले वार्षिक करिब ९ देखि १० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएका छन्। यहाँ उत्पादन हुने सुन्तला स्वादिष्ट भएकाले बजारको कुनै समस्या नरहेको उनले बताए।
सुन्तलाका बगैँचा संरक्षण र उत्पादन क्षेत्र विस्तारका लागि गाउँपालिकाले प्रत्येक वर्ष सुन्तलाका बिरुवा वितरण गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा पनि सहयोग पुग्नेछ।
पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ।

