काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। सरकार गठन भएको करिब चार महिनापछि परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो।
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री बनाउने तयारी भइरहेको छ। उनलाई दिउँसो २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार शपथका लागि कार्यालय तयारी अवस्थामा छ ।
शर्मालाई रक्षा तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको बताईएको छ। हालसम्म यी दुवै मन्त्रालय प्रधानमन्त्री कार्की स्वयंले सम्हाल्दै आएकी छिन्।
पूर्वरथी शर्माले माओवादी शान्ति प्रक्रियापछि लडाकू समायोजनका लागि गठन गरिएको विशेष समितिको सचिवालय संयोजकका रूपमा काम गरेका थिए। साथै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिड–१९ महामारीको समयमा गठन गरिएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को जिम्मेवारी पनि सम्हालेका थिए।
शर्मा नेपाली सेनामा फोर्स कमाण्डरको रूपमा समेत कार्यरत थिए।

