काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा निर्वाचन लड्ने घोषणा गरेका छन्।
बिहीबार धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आफू महामन्त्रीभन्दा तलको पदमा उम्मेदवारी दिन नमिल्ने र सोभन्दा माथिल्लो पदका लागि अझै तयारी नपुगेको बताए।
“१४ औँ महाधिवेशनमा म महामन्त्रीमा उम्मेदवार बनेँ, तर सफल भइनँ। अहिले म त्योभन्दा तलको पदमा लड्न मिल्दैन,” उनले भने, “त्यसभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन। त्यसैले महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने सोच बनाएको छु।”
नेता पौडेलले समय अभाव देखाउँदै महाधिवेशनको मिति धकेल्ने प्रयास भइरहेको आरोप पनि लगाए। यसमा मुख्य नेतृत्व जिम्मेवार रहेको उनको भनाइ थियो।
“अहिले समय अभावको बहानामा महाधिवेशन लम्ब्याउने प्रपञ्च भइरहेको छ। यसका लागि मुख्य नेतृत्व दोषी छ,” उनले भने, “चुनौती थपिएको यस्तो अवस्थामा पार्टीलाई अधिवेशनको अन्योलमा राख्नु हुँदैन।”
उनले निर्वाचनअघि महाधिवेशन गरी नेतृत्व परिवर्तन नगरे कांग्रेसले गम्भीर पराजय भोग्नुपर्ने चेतावनी पनि दिए।

