काठमाडौं। बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिमले आज आफ्नो पहिलो खेल खेल्दैछ।
सन्दीप आबद्ध राजशाही वारियर्सले शुक्रबार सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार अहिले दिउँसो १ः४५ बजे सुरु हुने जनाईएको छ।
पहिलो खेलमै सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ।
यस सिजन सन्दीप राजशाही वारियर्ससँग अनुबन्ध भएका हुन्। यो उनको बीपीएल करियरको दोस्रो अनुबन्ध हो।
रोचक पक्ष के छ भने आज उनले प्रतिस्पर्धा गर्न लागेको सिलेट टाइटन्सकै लागि सन्दीपले सन् २०१९ मा बीपीएल खेलेका थिए।
राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका कप्तान नजमुल हुसेनले गर्दैछन्। टिममा नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका अलराउन्डर जिमी निशम पनि समावेश छन्।

