काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गएको छ। आज पनि दुवै बहुमूल्य धातुको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ६९ हजार ३०० मा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ५८५ पुगेको छ। महासङ्घका अनुसार दुवै धातुको यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ६८ हजार १०० र चाँदी रु ४ हजार ४२० मा कारोबार भएको थियो। बिहीबार भने दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर सुन प्रतितोला रु २ लाख ६७ हजार ५०० र चाँदी रु ४ हजार ४०० मा झरेको थियो।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्यमा समेत वृद्धि देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन करिब ४ हजार ५०० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

