काठमान्डौ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बाँकेको आयोजनामा कृति विमोचन तथा समालोचना कार्यक्रम शनिबार नेपालगन्जको स्वस्तिक कटेजमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा भरतबहादुर रानाभाटको ‘ढुकढुकीमा देश’ कविता सङ्ग्रह, चन्द्रावती अधिकारीको ‘चन्द्रार्घ्य’ तथा भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविताहरू’ एकसाथ विमोचन गरिएको थियो।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, बाँकेका अध्यक्ष तथा विमोचित कृति ‘ढुकढुकीमा देश’ का कृतिकार भरतबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य डा. कृष्णप्रसाद घिमिरे प्रमुख अतिथि तथा प्रा. डा. गोपालप्रसाद शर्मा अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा प्राज्ञ सभा सदस्य महानन्द ढकाल, शशिराम कार्की, राजनीतिक विश्लेषक नरेन्द्र जङ्ग पिटर, प्रलेसका केन्द्रीय सचिव तथा तीनै कृतिका समालोचक डा. हरिप्रसाद तिमिल्सिना, ‘ढुकढुकीमा देश’ का समालोचक डा. राजकुमार थारु, भूपेन्द्र सुवेदीका कविताका समालोचक डा. पुष्कर रिजाल लगायत साहित्य, शिक्षा, पत्रकारिता र सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, कृतिकार भूपेन्द्र सुवेदी र कृतिकार चन्द्रावती अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि डा. घिमिरेको मन्तव्यपछि अध्यक्ष रानाभाटले कार्यक्रमको समापन गर्नुभएको थियो।
कठोर चिसो मौसमका बाबजुद करिब ७० जना साहित्यकार, समालोचक, कृतिकार तथा साहित्यप्रेमीको उपस्थितिमा कार्यक्रम सौहार्दपूर्ण र शान्त वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन लुम्बिनी वाङ्मय प्रतिष्ठानकी सचिव करिस्मा योगीले गर्नुभएको थियो।
कार्यक्रमको सफलतामा योगदान पुर्याउने सम्पूर्ण अतिथि, समालोचक, कृतिकार, आयोजक संस्था तथा उपस्थित साहित्यप्रेमीहरूप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

