भगिरथ न्यौपाने
लोकप्रियबादको जलपभित्र
भिज्दैछ आज लोकतन्त्र,
नारा मीठा छन्—
तर अर्थमा सडानको गन्ध छ।१।
घण्टी बज्छ,
शब्दभन्दा ठूलो आवाजमा,
तर मौन छ नीति,
मौन छ वर्गको प्रश्न।२।
रबि माइक समाउँछन्—
पत्रकारिताको स्मृतिलाई
भोटको बजारमा राखेर,
“सबै चोर” भन्ने वाक्यले
आफ्नै जिम्मेवारी पखाल्छन्।३।
प्रश्न सजिलो छ,
उत्तर कठिन—
त्यसैले उत्तरलाई
लाइभबाट काटिन्छ।४।
बालेन आउँछन्
कविताजस्तै भाषण लिएर,
डोजरको छायाँमा
संविधान नाप्दै।५।
सहर सफा हुन्छ भन्छन्,
तर मन फोहोरै रहन्छ,
किनकि शासन
इन्स्टाग्रामको स्टोरी होइन।६।
भीड ताली बजाउँछ
विकल्प खोज्दै
नेतृत्व होइन,
मनोरञ्जन।
यतै कतै
जेलेन्सकी मुस्कुराइरहेका छन्।७।
युद्धको धुवाँभित्र
हिरो बनाइएका,
टीभीबाट सिधै
सत्ताको सिंहासनमा पुगेका।८।
फरक यति हो
त्यहाँ ट्याङ्क थियो,
यहाँ ट्रेन्ड।
हामी पनि
युद्धकै भाषामा बोल्दैछौं।९।
शत्रु देखाइन्छ,
प्रणाली होइन।
नायक बनाइन्छ,
संघर्ष होइन।
लोकप्रियबादको जलपभित्र
बेथितिको डङ्गुर थुप्रिँदैछ।१०।
र हामी सोच्दैछौं
दल बदलिँदा
देश बदलिन्छ।
तर इतिहास
कहिल्यै यस्तो सरल थिएन।११।

