काठमाडौं,
नेपाली लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलद्वारा संकलित एवं लिखित पुस्तक ‘नेपाली लोक धुन स्वरलिपि’ (Nepali Folk Songs Scores) को एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । काठमाडौं टेकुस्थित लक्ष्मेश्वर मन्दिर परिसरमा आयोजित उक्त समारोहमा संगीतकर्मी, लेखक तथा संस्कृतिविद्हरूको बाक्लो उपस्थितिका बीच अभ्यागत सवैले एकसाथ विमोचन गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै पुस्तकका लेखक एवं लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले नेपाली लोक धुनहरूलाई शास्त्रीय र प्राविधिक रूपमा लिपिबद्ध गर्ने प्रयास स्वरूप यो पुस्तक ल्याइएको बताए । उनले भने , “हाम्रा मौलिक धुनहरू हराएर जाने जोखिममा रहेकाले सो को संरक्षण गर्नुपर्ने दायित्व महसुस गरिकन स्वरलिपिको माध्यमबाट यी धुनहरूलाई विश्वव्यापी बनाउन र संरक्षण गर्नु हामी संगीतप्रेमीको दायित्व हो । 
समारोहमा स्वागत मन्तव्य राख्दै श्री रवीन्द्र तामाङले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुका साथै पुस्तकको आवश्यकता र सान्दर्भिकतामाथि प्रकाश पारेका थिए । सो समारोहमा पुस्तकको समीक्षा गर्दै संरक्षक मनोहर लामिछाने र सम्पादक राजेश खनालले यस कृतिलाई नेपाली लोक संगीतको क्षेत्रमा एक ‘ऐतिहासिक दस्तावेज’ को रूपमा दर्ज हुने टिप्पणी गरे । उनका अनुसार यो पुस्तकले भावी पुस्तालाई नेपाली लोक बाजा र धुन सिक्नका लागि व्याकरणको काम गर्नेछ ।
सोही अवसरमा जापानी नागरिक ताकाशी हासेगावा (Takashi Hasegawa) लाई विशेष प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । हासेगावाले यस पुस्तकको प्रकाशनमा महत्वपूर्ण सहयोग पुर्याएका छन् । सम्मान ग्रहण गर्दै हासेगावाले नेपाली लोक संगीतको विविधता र मौलिकताले आफूलाई सधैं मोहित पार्ने गरेको र यसको संरक्षणमा जोडिन पाउँदा खुशी लागेको बताए ।
उक्त कार्यक्रमको अर्को मुख्य आकर्षण सारङ्गी वादन रहेको थियो । कलाकार विशाल नकर्मीले सारङ्गीमार्फत विभिन्न नेपाली लोक धुनहरू प्रस्तुत गर्दा उपस्थित श्रोताहरू मन्त्रमुग्ध भएका थिए । लोक बाजा संग्रहालयद्वारा प्रकाशित यस पुस्तकले नेपाली संगीतको प्राज्ञिक अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ। कार्यक्रमको अन्त्यमा उपस्थित सबैका लागि जलपानको व्यवस्था गरिएको थियो।

