काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा अन्य हिमाली–पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै तराईका एक–दुई स्थानमा पनि यस्तो मौसम देखिन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही क्षेत्रमा हुरीबतास, असिना, मेघगर्जन र चट्याङको जोखिम रहने चेतावनी दिइएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थान तथा अन्य पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

