काठमाडौँ । महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशन ललितपुरस्थित महालक्ष्मी नगरपालिका–९ वडा कार्यालय भवनमा आज वैशाख १८ गते भव्य रूपमा सम्पन्न भएको छ। लेखक तथा कविहरूको वृहत् भेलाबाट सम्पन्न अधिवेशनले समाजको अध्यक्षमा विनोद खत्री आकाशलाई सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष खत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ र कोषाध्यक्षमा रूबिना राना चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा पुरुषोत्तम बस्नेत, पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत रूपमा चयन हुनुभएको छ। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहने जनाइएको छ।
वि.सं. २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यसहित स्थापना भएको समाजले स्थापनाकालदेखि नै नियमित साहित्यिक शृङ्खला सञ्चालन, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मानजस्ता गतिविधि गर्दै आएको छ। समाजले स्थानीय तहमा साहित्यिक चेतना विस्तार तथा स्रष्टाहरूलाई साझा मञ्च प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साहित्यप्रेमीहरूको भनाइ छ।

