काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न स्थानमा सुकुम्वासी बस्तीहरू भत्काइँदै गएको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
विज्ञप्ति जारी गर्दै उनले सरकारले संविधानको धारा ३७(१) विपरीत गरिब तथा सुकुम्वासी नागरिकहरूको बासस्थान भत्काउने काम गरिरहेको आरोप लगाएका छन्। साथै, धारा १६(१) मा सुनिश्चित मौलिक अधिकारको समेत उल्लंघन भएको दाबी गर्दै डर, धम्की र बल प्रयोगमार्फत नागरिकलाई विस्थापित गर्ने कार्यलाई “राज्य आतंक”को संज्ञा दिएका छन्।
साम्पाङले दशकौँदेखि बसोबास गर्दै आएका बस्तीहरूमा समयमै उचित व्यवस्थापन नगर्दा समस्या गम्भीर बनेको उल्लेख गरेका छन्। त्यहाँका बासिन्दाले जीवनभरको कमाइ लगानी गरेर घर निर्माण गरेको भन्दै उनले उचित क्षतिपूर्ति र व्यवस्थित पुनर्बास बिना बस्ती हटाउनु अन्यायपूर्ण हुने बताएका छन्।
उनले सरकारलाई सुकुम्वासीलाई बेघर बनाउने नीति त्यागेर व्यवस्थित पुनर्बास र न्यायोचित क्षतिपूर्ति सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।
“जनतालाई बेघर बनाएर न सुशासन सम्भव छ, न विकास,” विज्ञप्तिमा उल्लेख छ।

