–विश्वनाथ खरेल
नेपालको नयाँ वर्ष, बिक्रम सम्बत् २०८३ को बैशाख १ गते मनाइँदै छ । यो दिन नेपालभरि उत्सवको माहौल छ । भक्तपुरको बिस्केट जात्रा, काठमाडौंका मन्दिरहरूमा भीड, परिवारसँगको भोज, नयाँ लुगा लगाउने परम्परा र आगामी वर्षको शुभकामना दिने चलन रहेको छ । तर यो नयाँ वर्ष साधारण उत्सव मात्र होइन । यो वर्ष नेपालको राजनीतिमा भएको अभूतपूर्व उथलपुथलसँग जोडिएको छ । गत वर्षको भाद्र २३, २४ गते भएको जेनजी नेतृत्वमा भएको आन्दोलनले पुरानो राजनीतिक व्यवस्थालाई ध्वस्त पारेको थियो । गत फागुन २१ गते को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ मध्ये १८२ सिट जितेर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनायो । यो ३६ वर्षीय पूर्व¥यापर र काठमाडौंका पूर्वमेयरलाई नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री बनाउँदै पुरानो दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलाई धुलो चटाएको छ । यो उथलपुथल सकारात्मक हो कि नकारात्मक? नयाँ वर्षको सन्दर्भमा यो प्रश्न अत्यन्त सान्दर्भिक छ । बिक्रम सम्बत्को नयाँ वर्षले सधैं नयाँ सुरुवात, आशा र परिवर्तनको सन्देश दिन्छ । यो पटक भने यो सन्देश राजनीतिक रूपमा जीवन्त भएको छ । नेपालको इतिहासमा राजनीतिक अस्थिरता सामान्य कुरा हो १७ वर्षमा १४ सरकार फेरिएका थिए । तर २०८२÷८३ मा भएको यो परिवर्तनले जनताको आक्रोशलाई संस्थागत रूप दिएको छ ।
बिक्रम सम्बत (बि.सं.) नेपालको राष्ट्रिय पात्रो हो । यो विक्रमादित्य नामक राजाले सुरु गरेको मानिन्छ । विक्रमादित्यले ई.सं. ५७ मा यो पात्रो सुरु गरेको भनिन्छ । जसले गर्दा बि.सं. सधैं ग्रेगोरियन पात्रोभन्दा ५६÷५७ वर्ष अगाडि रहन्छ । २०२६ ग्रेगोरियन वर्ष बि.सं. २०८३ हो । नयाँ वर्ष बैशाख १ मा मनाइन्छ, जुन वसन्त ऋतुको सुरुवात हो । यो दिनलाई नेपालमा नव वर्ष वा नयाँ वर्ष भनिन्छ । यो पात्रोको महत्व केवल क्यालेन्डरमा सीमित छैन् । यो हिन्दु परम्परा, बौद्ध प्रभाव र स्थानीय जनजाति संस्कृतिसँग गाँसिएको छ । प्राचीन कालमा नेपाल उपत्यकामा नेवार समुदायले यो दिनलाई विशेष महत्व दिएका थिए । भक्तपुर, ललितपुर र काठमाडौंका राजाहरूले नयाँ वर्षलाई राज्यको नवीकरणको रूपमा मनाउने गर्थे । बिस्केट जात्रा (भक्तपुर) यसको उत्कृष्ट उदाहरण पनि हो । यो जात्रामा ठूलो रथ तानिन्छ, ध्वजा फहराइन्छ र पुरानो वर्षको अन्त्यसँगै नयाँ वर्षको स्वागत गरिन्छ । यो परम्परा एकहजार वर्ष पुरानो मानिन्छ । नयाँ वर्षको दिनमा परिवार एकत्रित हुन्छन् । सगुन दिने चलन छ जसमा अण्डा, माछा, चिउरा र फलफूल हो । यो दिनमा मन्दिर दर्शन, घुमफिर र नयाँ योजना बनाउने प्रचलन रहेको छ । यसलाई पनि तरबारी, धरान, पोखरा जस्ता ठाउँमा स्थानीय रूपमा मनाइन्छ । मधेसमा बैशाखी उत्सवसँग जोडिन्छ भने हिमाली क्षेत्रमा लोक संस्कृति झल्किन्छ ।
आधुनिक समयमा नयाँ वर्षलाई पर्यटनसँग जोडिएको छ । विदेशी पर्यटकहरू बिस्केट जात्रा हेर्न आउँछन् । तर यो सांस्कृतिक उत्सव मात्र नभएर यो आर्थिक रूपमा पनि महत्वपूर्ण छ । होटल, रेस्टुराँ र यातायात क्षेत्रले यो समयमा राम्रो व्यापार गर्छन् । कोभिड–१९ पछि नयाँ वर्षले पर्यटनलाई पुनरुत्थान गरेको थियो । नयाँ वर्षको दार्शनिक पक्ष पनि छ । बौद्ध र हिन्दु दुवै परम्परामा यो नवीकरणको प्रतीक हो । पुरानो वर्षको कमजोरी, दुःख र असफलतालाई पछाडि छोडेर नयाँ आशासँग अगाडि बढ्ने दिन पनि हो । यो सन्देश आजको राजनीतिक सन्दर्भमा अत्यन्त प्रासंगिक रहेकोछ ।
नेपालको सांस्कृतिक विविधताले नयाँ वर्षलाई बहुरंगी बनाएको छ । उपत्यकामा नेवार समुदायको खायु संल्हु वा नयाँ वर्ष विशेष रुपमा मनाउँछन् । भक्तपुरमा बिस्केट जात्रा दुई हप्तासम्म चल्छ । यो १२औं शताब्दीको जात्रा मानिन्छ । यसमा महाकाली र महालक्ष्मीको रथयात्रा हुन्छ । तराई मधेसमा बैशाख १ लाई बैसाखी भनिन्छ । यहाँ गाउँघरमा हलो जोत्न सुरु गरिन्छ र कृषि चक्रको नयाँ सुरुवात मानिन्छ । किराँत र लिम्बू समुदायमा चण्डी पूजा र लोकगान हुन्छन् । हिमाली जिल्लामा गोर्खाली परम्परा अनुसार ल्होसारसँग मिसिन्छ । आधुनिक नेपालमा नयाँ वर्षलाई पिकनिक र ’मेला’ सँग जोडिएको छ । युवाहरूले सोसल मिडियामा ह्याप्पी न्यू इयर २०८३ सेयर गर्छन् । तर परम्परा जोगाउने प्रयास पनि छ जस्तै मातातिर्थ आँसीमा आमाको मुख हेर्ने दिन हो । यो विविधता नेपालको एकता हो । नयाँ वर्षले जाति, भाषा र धर्मको सीमा पार गर्छ । यो दिनमा सबैले शुभ नयाँ वर्ष भन्छन् । तर २०८३ मा यो उत्सव राजनीतिक परिवर्तनको छायाँमा परेको छ । जनताले नयाँ सरकारबाट नयाँ आशा गरेका छन् ।
नेपालको राजनीतिक इतिहास उथलपुथलले भरिएको छ । २००७ सालको क्रान्तिबाट राणा शासनको अन्त्य भयो । २०१७ सालमा राजा महेन्द्रले पञ्चायत व्यवस्था ल्याए । २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र ल्यायो । २०५९ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन गरेका थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनले गणतन्त्रको बाटो खोल्यो । २०७२ को संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । तर स्थिरता कहिल्यै आएन । १९९० पछिका ३० वर्षमा १५ भन्दा बढी प्रधानमन्त्री फेरिए । २००८ देखि २०२६ सम्म १४ सरकार बनेका थिए । त्यसरी नै केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल जस्ता नेताहरू बारम्बार सत्तामा आए । देशमा भ्रष्टाचार, बेरोजगारी, युवा पलायन र आर्थिक मन्दीले जनता थाके । त्यसको उपजको रुपमा गत भाद्रको जेनजी आन्दोलनले यो चक्र तोड्यो । भ्रष्टाचार, बेरोजगारी र सोसल मिडिया प्रतिबन्धविरुद्ध आन्दोलन सुरु भयो । प्रदर्शन हिंसात्मक भयो ७६÷७७ जनाको मृत्यु, हजारौं घाइते भए । देशमा संसद् लगायत विभिन्न भवनहरु जलायो । त्यसपछि ओली सरकार ढल्यो । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की (पूर्व प्रधानन्यायाधीश) ले चुनाव गराइन् । यो आन्दोलन उथलपुथलको उत्कर्ष थियो ।

