कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँ निवासी माया कठायत दुई सन्तानसहित सम्पर्कविहीन भएकी छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपकसँगै आइतबार बिहानदेखि हराइरहेकी हुन्। उनका श्रीमान् भूपेन्द्र कठायतले सोही दिन बेलुका प्रहरी चौकी गुमीमा परिवार सम्पर्कविहीन भएको जानकारी दिएका थिए।
चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार जना सुरक्षाकर्मी तथा वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
हाल तीनैजनाको खोजीका लागि भेरी नदी तथा आसपासका क्षेत्रमा विभिन्न इलाका प्रहरी चौकीबाट ३५ जना प्रहरी र स्थानीयबासी परिचालित भएपनि महिला र उनका दुई सन्तानको वास्तविक अवस्था पत्ता लागेको छैन ।

