काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा जडान गरिएको ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गरेकी छन्।
सोमबार गरिएको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु गरिएको ‘पास’ सेवा मोडेलसहित समग्र सेवा प्रवाह प्रणाली र कार्यालय व्यवस्थापनको अवलोकन गरेकी हुन्। उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत विशिष्ट पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सार्वजनिक सम्बोधन/घोषणा प्रणालीसहितको नयाँ मोडेल कार्यान्वयनमा ल्याएको जनाएको छ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अन्य सरकारी निकायहरूमा समेत यो प्रणाली विस्तार गर्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका थिए। उनका अनुसार उक्त प्रणाली लागू भएको करिब तीन महिनामा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सन्तुष्टि बढेको पाइएको छ।
“सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको हो,” उनले भने, “जेनजी आन्दोलनपछि उठेका सुशासन र पारदर्शिताका आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो। यसले बिचौलियाको भूमिकालाई कम गर्न सहयोग पुगेको छ।”
कार्यालयका भुइँतलादेखि प्रत्येक तलासम्म ‘स्पिकर’ जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोगलाई अवलम्बन गरिएको जनाइएको छ।

