काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनका अनुसार पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने यातायात व्यवसायी र उपभोक्ताको हितलाई ध्यान नदिई एकाएक मूल्य बढाउँदा देशभर यातायात सेवा सञ्चालनमा प्रत्यक्ष असर परेको छ।
महासङ्घले निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको खपत व्यवस्थापन गरी वैज्ञानिक ढङ्गले सहज आपूर्ति सुनिश्चित गर्न नेपाल सरकार सँग माग गरेको छ।
सार्वजनिक यातायात डिजेल र पेट्रोलमा निर्भर हुने भएकाले मूल्य घटबढले सीधा असर पर्ने महासङ्घले बताएको छ। निगमले आइतबार रातिदेखि डिजेलमा रु १० र पेट्रोलमा रु १५ ले मूल्य वृद्धि गरेको छ।
यसैबीच यातायात व्यवस्था विभागले कानुनबमोजिम सङ्घीय रुटमा पेट्रोलियम मूल्य परिवर्तन हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्ने व्यवस्था रहेको उल्लेख गर्दै सोही प्रणाली लागू गर्न आग्रह गरेको छ।
महासङ्घले सङ्घीय रुटको भाडा विभागमार्फत र प्रदेशस्तरका भाडा सम्बन्धित सातै प्रदेशका मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ।

