काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित तथा पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।
काठमाडौँमा आयोजित सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले दीर्घकालीन लगानी संरचना निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरिन्। विश्वभर रहेका नेपालीहरूलाई “सद्भावना दूत”को संज्ञा दिँदै उनले उनीहरूको योगदानको प्रशंसा गरिन्।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन्।
सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एकता कायम हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले एकता र सहकार्यबाट मात्र विश्वभरका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखिन्।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको स्मरण गराउँदै उनले यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ सुदृढ बनाएको बताइन्।
नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मा सहित नयाँ कार्यसमितिलाई शुभकामना दिँदै उनले गैरआवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने बताइन्।
प्रधानमन्त्री कार्कीले नेपाललाई अवसरयुक्त र समृद्ध राष्ट्र बनाउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस महाधिवेशनबाट व्यक्त भएको एकता र प्रतिबद्धताले विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन्।

