काठमाण्डौ। सर्लाहीको कविलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन २३ गते दिउँसो करिब ४ बजे उक्त घटना भएको थियो। १९ बर्षीय किशोर प्रमितकुमार यादवमाथि कुटपिट भएको हो ।
उनीसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट–अंगभंगसम्बन्धी कसुरमा राजेनकुमार यादवले फागुन २९ गते जाहेरी दर्ता गराएका छन्।
घटनामा संलग्न रहेको आरोपमा सोही वडाका रोहितकुमार यादव (२९) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जाहेरीका आधारमा पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ। घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी कार्य जारी रहेको छ।
सार्वजनिक भिडियोमा पीडित युवकले कुटपिट नगर्न आग्रह गर्दै हात जोडिरहेका छन् भने उनिमाथि निरन्तर कुटपिट भैरहेको अमानवीय दृश्य छ।

