काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा हुन्डी तथा अभौतिक (डिजिटल) मुद्राको अवैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त सूचनापछि खटिएको प्रहरी टोलीले नागार्जुन–८ भिमढुङ्गाबाट सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताललाई पक्राउ गरेको हो। उनीहरूको साथबाट रु. १ करोड १६ लाख नगदसहित विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका विभिन्न व्यक्तिको नाममा रहेका चेकबुक ३ थान, विभिन्न व्यक्तिको नाममा काटिएका रु. २७ लाख ३० हजार बराबरका चेक ३ थान, विभिन्न बैंकका ATM कार्ड ४ थान तथा १ थान नागरिकता बरामद गरेको छ।
त्यस्तै, २ वटा चार पाङ्ग्रे सवारी साधन, १ वटा दुई पाङ्ग्रे सवारी साधन, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका मोबाइल फोन ६ थान, एनसेल र नेपाल टेलिकमका ३१ थान सिमकार्ड तथा एक सेट कम्प्युटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी उनीहरूको Binance खातामा 7,175.34 USDT बराबरको अभौतिक मुद्रा रहेको समेत फेला परेको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

