काठमाडौं। केही समययता कमजोर देखिएको मनसुन आगामी हप्तादेखि उल्लेखनीय रूपमा सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन देशका अधिकांश क्षेत्रमा वर्षा बढ्ने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरेको छ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल पनि देशका केही स्थानमा भारी वर्षा भइरहेको छ भने मङ्गलबारपछि मनसुन थप सशक्त भई धेरै क्षेत्रमा प्रभाव पार्नेछ। उहाँले विशेषगरी केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको बताए।
आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र तथा लुम्बिनी प्रदेशको पश्चिमी तराईका केही स्थानमा तातो लहरको असर कायम रहने सम्भावना छ।
भोलि सोमबारदेखि वर्षा थप बढ्ने
सोमबारदेखि देशभरको मौसममा उल्लेखनीय परिवर्तन आउने विभागको अनुमान छ। देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
सोमबार रातिदेखि मनसुन थप सक्रिय भई कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको जोखिम रहने बताइएको छ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्म मनसुन क्रमशः सक्रिय हुँदै जानेछ र असार १६ देखि १८ गतेको अवधिमा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भई रोपाइँका लागि अनुकूल वातावरण बन्ने सम्भावना छ। उहाँका अनुसार सोमबारपछि पश्चिम नेपालका बाँकेदेखि कञ्चनपुरसम्मका जिल्लामा पनि उल्लेखनीय वर्षा हुने देखिएको छ।
विभागले भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

