काठमाडौं । इन्धनको मूल्यवृद्धिको असर सार्वजनिक यातायात भाडामा फेरि परेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको हो । विभागका अनुसार संशोधित भाडादर आज बुधबारदेखि नै लागू भएको छ ।
नयाँ व्यवस्थाअनुसार अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई क्षेत्रका मालवाहक सवारीसाधनमा समान रूपमा ५–५ प्रतिशत भाडा वृद्धि गरिएको छ ।
यसअघि पनि गत चैत २५ गते सार्वजनिक यातायातको भाडा समायोजन गरिएको थियो । पछिल्लो भाडा वृद्धिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा सहमति दिएको विभागले जनाएको छ । मन्त्रालयको स्वीकृतिपछि विभागले नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ । यद्यपि, विभागले विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने स्पष्ट पारेको छ । यदि विद्युतीय सवारीले मनपरी रूपमा भाडा वृद्धि गरे कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

