काठमाडौँ । पाल्पास्थित दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा आएको छ। दक्ष जनशक्ति व्यवस्थापन तथा आवश्यक मर्मतसम्भारपछि प्लान्ट पुनः सञ्चालनमा आएको हो।
कोरोना महामारीका बेला सङ्घीय सरकारको बजेटमा पाल्पा अस्पतालमा निर्माण गरिएको उक्त प्लान्ट केही वर्षयता बिग्रिएर बन्द अवस्थामा थियो। अब प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन अभावको समस्या समाधान हुने विश्वाससहित स्थानीयले खुसी व्यक्त गरेका छन्।
यसअघि अक्सिजन अभाव हुँदा बुटवल र भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो। तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीका अनुसार जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि अस्पतालसहित बिरामी एवम् सर्वसाधारणलाई सहज भएको छ। उनका अनुसार अब पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र होइन, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुनेछ।
जिल्लामा मासिक चार सयदेखि पाँच सयसम्म अक्सिजन सिलिण्डर खपत हुने गरेको छ। पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यका अनुसार सानो सिलिण्डर रु ३५० र ठूलो सिलिण्डर रु ६५० सम्ममा खरिदबिक्री हुँदै आएको छ। स्थानीय स्तरमै अक्सिजन उत्पादन हुँदा ढुवानी खर्च र समय दुवैको बचत हुने उनले बताए।
अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दो बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको अध्यक्ष कर्माचार्यले उल्लेख गरे। “अक्सिजन अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” उनले भने।
अक्सिजन प्लान्ट सञ्चालनसँगै पाल्पा अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले जानकारी दिए।
सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले विसं २०७८ जेठमा प्लान्ट सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो। सोही रकमबाट उपकरण खरिद गरी प्लान्ट स्थापना गरिएको हो भने प्लान्टका लागि अस्पताल नजिकै रु २६ लाख लागतमा भवन निर्माण गरिएको छ।
कोभिड–१९ महामारीका बेला सञ्चालनमा रहेको प्लान्ट पछि बन्द हुँदा दीर्घरोगीहरू समस्यामा परेका थिए। अब पुनः सञ्चालनमा आएपछि उनीहरूलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

