काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई लिएर नेपाली राजनीति तातेको छ। वरिष्ठताको स्थापित परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला ले सरकारमाथि तीव्र आक्रमण गर्नुभएको छ।
उहाँले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउँदै यो निर्णयलाई “विधिको शासनमाथिको सिधा प्रहार” भन्नुभएको छ।
डा. संग्रौलाले वरिष्ठताको परम्परा मिचिनु केवल व्यक्तिको चयनको विषय नभई न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने खतरनाक संकेत भएको बताउनुभयो। उहाँले “न्यायालयलाई आफ्नो अनुकूल बनाउने र ‘सेटिङ’को खेल चलाउने प्रयास लोकतान्त्रिक मूल्य र संविधानविपरीत छ” भन्दै सरकारको कदम स्वेच्छाचारिताको पराकाष्ठा भएको आरोप लगाउनुभयो।
कांग्रेसले यो निर्णयलाई असंवैधानिक र नियोजित कदमको संज्ञा दिँदै न्यायपालिकाको गरिमा र स्वतन्त्रता जोगाउन सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ। पछिल्लो घटनाले न्यायिक नियुक्तिमा राजनीतिक प्रभाव, शक्ति केन्द्रित निर्णय र संवैधानिक मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
Previous Articleहाम्रो भान्सामा विषको प्रवेश : सरकार किन मौन ?
Next Article सरकारद्वारा १५ अवैतनिक वाणिज्यदूत पदमुक्त

