काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सिंहदरबारलाई नै ‘कमान्ड सेन्टर’ बनाएर नियमित रूपमा शासन सञ्चालन गरिरहेको कार्यशैलीप्रति पूर्वमुख्यसचिवले प्रशंसा व्यक्त गरेका छन्। उनका अनुसार विगतका प्रधानमन्त्रीहरू प्रायः बालुवाटारबाटै शासन चलाउन रुचाउने गर्थे भने अहिले प्रधानमन्त्री स्वयं सिंहदरबारमा उपस्थित भएर मुख्य काममा केन्द्रित भइरहेका छन्।
पूर्वमुख्यसचिवका अनुसार सफल नेतृत्वले ‘कोर’ र ‘नन–कोर’ काम छुट्याउन सक्नुपर्छ, र प्रधानमन्त्री शाहले त्यही अभ्यासलाई प्राथमिकतामा राखेका छन्। उद्घाटन, औपचारिक भेटघाट र सहायक गतिविधिभन्दा नीतिगत छलफल, कूटनीतिक सम्बन्ध तथा कर्मचारीतन्त्र परिचालनजस्ता मुख्य विषयमा ध्यान केन्द्रित गरिएको उनको भनाइ छ।
उनले कूटनीतिक भेटघाटको शैलीमा पनि परिवर्तन आएको उल्लेख गरेका छन्। विभिन्न देशका राजदूतहरूसँग सामूहिक रूपमा भेट गरी राष्ट्रिय प्राथमिकता स्पष्ट पार्नु समय व्यवस्थापन र सन्देश प्रवाह दुवै हिसाबले प्रभावकारी भएको उनको भनाइ छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको एउटै धारणा प्रस्तुत भएको संकेत दिएको उनले बताए।
प्रधानमन्त्रीको नियमित कार्यालय उपस्थितिले कर्मचारीतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनको मूल्यांकन छ। नेतृत्व नै कार्यालयमा सक्रिय हुँदा अन्य निकायहरू पनि जिम्मेवार बन्न बाध्य हुने र यसले सुस्त देखिएको प्रशासनिक संयन्त्रलाई चलायमान बनाएको उनले उल्लेख गरे।
प्रधानमन्त्रीले हालसम्म ठूला सार्वजनिक भाषण नगरेको विषयलाई पनि उनले परिणाममुखी नेतृत्वको संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार पहिले काम गरेर नतिजा देखाउने र त्यसपछि मात्र बोल्ने शैली प्रभावकारी नेतृत्वको परिचायक हो।
उनले यही कार्यशैली निरन्तर कायम रहे नेपालको प्रशासनिक इतिहासमा नयाँ मापदण्ड स्थापित हुन सक्ने बताएका छन्।
Previous Articleहोर्मुजमा चर्कियो तनाव : इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
Next Article मन्त्रीलाई आइफोन गरीबलाई डोजर

