काठमाण्डौ । होर्मुज क्षेत्रमा तनाव पुनः चर्किएको छ। इरानको इस्लामिक रिभोलुसनरी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स–आईआरजिसी)ले होर्मुज जलडमरूमध्य पुनः बन्द गरेको घोषणा गरेसँगै एक तेल ट्यांकरमाथि गोली प्रहार गरिएको हो।
युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेशन्स–यूकेएमटीओ)का अनुसार उक्त क्षेत्रमा एक ट्यांकरमाथि आक्रमण भएको रिपोर्ट प्राप्त भएको छ। प्रारम्भिक विवरणअनुसार “आईआरजिसीसँग सम्बन्धित” भनिएका दुई गनबोटले उक्त आक्रमण गरेका थिए।
ट्यांकरका कप्तानका अनुसार ती गनबोटहरूले कुनै रेडियो चेतावनी नदिई सिधै गोली चलाएका थिए। यद्यपि, जहाज र चालकदल सुरक्षित रहेको यूकेएमटीओले जनाएको छ।
इरानले भने आफूहरूले यसअघि होर्मुज जलडमरूमध्य खुला राखे पनि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीका कारण पुनः जलमार्ग बन्द गर्नुपरेको दाबी गरेको छ।

