काठमाण्डौ । बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–५ साईटार क्षेत्रमा आज (शुक्रबार) भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट खुर्कोट हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले दुर्घटनाको पुष्टि गरेका छन्।
दुर्घटनामा माइक्रो बस चालक गजबहादुर मगरको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ।
त्यस्तै, ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ भने अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ। चिकित्सकहरूका अनुसार अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम खालको रहेको छ।
प्रहरीका अनुसार घाइतेहरूमा संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत रहेका छन्।

