–विश्वनाथ खरेल
विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल हो । जहाँ हिन्दू संस्कृतिमा हरेक तिथि चाड पर्वको आफ्नै प्रकारको मौलिक विशेषता देखिन्छ । यसरी हेर्दा प्रत्येक तिथिहरुको एउटा न एउटा महत्व पाइन्छ । जबकी वर्ष दिनभरी मनाइने चाडहरु मध्ये घोडेजात्रा पनि एक प्रमुख पर्व हो । संस्कृतिमा निकै धनि हाम्रो देश छ । हरेक दिन एक न एक पर्व परेकै हुन्छ । आफ्नो संस्कृतीलाई संरक्षण र सर्वद्धन गर्नु प्रत्येक नेपालीको परम कर्तव्य हो । यसैले होला चाड पर्वहरुमा नेपालीहरु रमेरै मनाउने गर्दछन् । यसमा पनि नेवार समूदायका जातिहरुमा विशेष महत्व यस पर्वले राख्दछ ।
हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगको रुपमा नेपालका विभिन्न चाडपर्वहरुलाई पनि लिइएका छन् । ती चाडपर्वहरुलाई सम्पूर्ण नेपालीहरुले खुला ह्दयले मिलोमतो गरी भाग लिने गर्दछन । यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ । यस वर्षको यही चैत ४ गते बुधबार परेको छ । यसलाई पिशाच चतुर्दशी पनि भन्दछन् । यस दिन टुँडीखेलमा धोडा दगुराउने जात्राका साथै अरु विभिन्न देवी देवताका रथयात्राहरु पनि हुन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो । यस दिन भगवान् शिवजीको धूमधामसँग पूजाआजा गरिन्छ । अझबढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लाषमय वातावरणमा मनाउंछन । यस दिन काठमाडौंको टुँडीखेल नजिकै रहेका “लुकुवा महादेव” वा पिशाचेश्वर महादेवको पूजा अर्चना पनि गर्ने परम्परा छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाई दिई सफासुघर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ । यस भोगमा छयापी, लसुन जस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ । भनिन्छ धोडे जात्रा पछि लसुन छिपिएको हुन्छ, खान लाएक हुँदैन भन्ने किम्बदन्ती पनि आजसम्म त्यतिकै चरितार्थ रहेको पाइन्छ ।
धार्मिक लोकोकृतनुसार लुकुवा महादेवका बारेमा अर्को एउटा कथा पाइन्छ । अगि शिवजीले भष्मासुर दानवको तपस्यादेखि खुशी भएर जसको शिरमा हात राख्लास् त्यो भष्म हुनेछ, भनेर बरदान दिएपछि भष्मासुर शिवजीकै शिरमा हात राख्न जाइलाग्यो । त्यो लुकन गए । सो कुरा थाहा पाएर श्री विष्णुनारायणले मोहिनी रुप लिएर भष्मासुरलाई भलाई उसको आफनै शिरमा हातराख्न विवश गराए । भष्मासुर आफै भष्म भयो । यसरी भष्मासुरको नास गराएपछि शिवजीलाई रछानबाट उतारी स्नान गराई पवित्र गराए । त्यसैले यस दिनलाई पिशाच चतुर्दशीका रुपमा प्रतिष्ठित गरी लुकुवा महादेवको पूजा गर्ने परम्परा चलाए । यो चलन काठमाडौं मात्र नभै अधिराज्यका नेवार समाज भएका प्रायः सवै ठाउँमा देखिन्छ । यसै दिन देखि काठमाडौंमा टंकेश्वरी, भद्रकाली आदि मातृका देवीहरुको खट्यात्रा हुन्छ र मातृका देवीहरुमध्ये पनि यस यात्रामा मुख्य भद्रकालीको यात्रा मानिन्छ ।
घोडेजात्रा अधि आजको जस्तो रुपमा हुँदैन थियो । तबेलाबाट धोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरुले भद्रकाली दर्शन गर्ने प्रथा थियो । दर्शन गर्न जाँदा राजा धोडामा जाने गर्थे । राजाको पछिपछि मन्त्रीहरु र दरवारियाहरुको ताँती छुट्थ्यो । राजाको दर्शनयात्राको शोभा हेर्न टुँडीखेलमा जनता भेला हुने गर्थे । यसरी राजाको धोडे यात्राले पछि गएर औपचारिक घोडेजात्राको रुप हुन गएको अनुमान गर्न सकिन्छ । यस जात्राको पहिलाको रुप पाटनको बालकुमारीको चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ । आज आएर विभिन्न मनोरञ्जनहरु थपिंदै गए र यो घोडेजात्राको तयारी धेरै दिन अधिदेखि गरिन थालेको हो । यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले धोडा, मोटर, मोटरसाइकल, साइकल, रेस जस्ता खेलहरुको प्रतियोगिता हो । यस अलवा विभिन्न खेल, तमाशा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ र फौजीले हेलिकप्टरबाट विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रमहरु बढी लोकप्रिय हुन थालेको छ । जसले गर्दा घोडेजात्रा हेर्ने को संख्यामा तीब्र प्रतिस्पर्धा हुन थालेको छ । अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन । त्यस्तै गरी महिलाहरुले पनि विभिन्न खेलमा भाग लिन थालेका छन । टुडिखेल मञ्चमा राष्ट्रपति लगायत, प्रधान मन्त्री अन्य मन्त्रीहरु र विदेशका प्रतिनिधिहरु लगायत उच्च पदस्थ सरकारी कर्मचारीहरुको पनि यस अवसरमा सरिक भएको पाइन्छ । विभिन्न प्रतियोगितात्मक खेलमा पहिला, दोश्रो, तेश्रो हुने व्यक्ति र समूहलाई सोही अवसरमा पुरस्कार प्रदान गरिन्छ । यस दिन काठमाडौंमा मात्र नभएर टाडा टाडा देखिका मानिसहरु घोडेजात्रा हेर्न टुँडीखेलमा आउने गर्दछन ।
घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व पनि रहेको छ । यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् । यो जात्रा खास गरी काठमाडौं उपत्यकाको तीन शहरमा भव्यरुपमा मनाइन्छ । यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउंने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ । यो चाड तीन दिनको भएता पनि अन्तिम दिन चैत्र शुक्ल परेवाको दिन मातृका देवीको खटहरु शहरमा परिक्रमा गराई छवटा गल्लीबाट ल्याई असनको चोकमा सातवटा खट धुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोकभेट भएको पनि भनिन्छ भन्ने किम्वदन्ती छ ।
समग्रमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न चाड पर्वहरुको आ–आफ्नै किसिमको महत्व बोकेर आएका छन् । त्यसमध्ये घोडेजात्रा पनि एक महत्वपूर्ण पर्व हो । मूलतः यसको धार्मिकभन्दा सामाजिक महत्व बढी भएको पाइन्छ । जसलेगर्दा नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरुपमा प्रस्तुत गरिरहेको छ । जसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ । अतः नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ । त्यसैले हिन्दू संस्कृतिमा आफ्ना पूर्वजहरुप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरको रुपमा यस जात्रालाई लिन सकिन्छ ।

