काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्कीमा आगलागी भएको छ।
दुबई मिडिया अफिसका अनुसार सोमबार भएको आक्रमणपछि विमानस्थल आसपास रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको हो।
घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको रोयटर्सले जनाएको छ। अधिकारीहरूका अनुसार उक्त घटनामा मानवीय क्षति भने भएको छैन।
सारजहाँ ट्वान्टी फोर अनलाइनका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनेका छन्। त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेको बताइएको छ।
यी आक्रमणका लक्ष्यमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनसमेत परेका छन्।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको प्रभाव बढी परेको बताइएको छ।
खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र उनीहरूले इरानको आलोचना गरेका छन्।

