काठमाडौँ। चितवनमा एक पुरुषलाई ‘हनी ट्र्याप’मा पारेर कुटपिट तथा स्कुटर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमूना टोलकी १८ वर्षीया एनी तामाङ र सोही स्थानका २५ वर्षीय विजय सुनार रहेका छन्।
उनीहरूलाई भरतपुर महानगरपालिका–१० वीरेन्द्र क्याम्पस रोडबाट पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कालिका–पदमपुर बस्ने ती युवतीले फेसबुकमार्फत चिनजान भएका एक पुरुषलाई फोनमा सम्पर्क गरी गत फागुन २९ गते जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री सडकमा बोलाएकी थिइन्। त्यसक्रममा कुटपिट गर्दै बा.प्र. ००४ प ५८८९ नम्बरको स्कुटर लुटेर युवकसँगै फरार भएको आरोप छ।
पीडितले स्कुटर फिर्ता माग्दा रकम माग्ने तथा रकम नदिए जबर्जस्ती करणीको मुद्दा हालेर फसाइदिने धम्की दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

