काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज पुन: सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि सुनुवाइ तोकेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार यसलाई हेर्दाहेर्दैमा राखेको थियो।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दायर गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल ‘सफल’, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

