काठमाडौँ। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
तिलगंगा, काठमाडौंस्थित उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि र पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले झोला लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई सामग्री हस्तान्तरण गरे ।
बैंकका अनुसार यस वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न तथा पिछडिएका वर्गका साथै शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै सातै प्रदेशका विभिन्न विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने कार्य गरिसकेको जनाएको छ।
शान्ति सेवा गृहमा रहेका विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन र शैक्षिक स्तर सुधार गर्न थप सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

