चितवन — रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने चितवन जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी प्रमाणपत्र लिँदै यस्तो प्रतिवद्धता गरेका हुन्।
प्रमाणपत्र लिएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्। जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको उल्लेख गर्दै उनले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए।
उनले भने, “हामी मात्तिएर होइन, संयमित भएर काम गर्नुपर्छ। प्रतिपक्षलाई होच्च्याउनु हुँदैन। लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ।”
पूर्व गृह तथा उपप्रधानमन्त्री लामिछानेले जनताले दिएको म्यान्डेटलाई जिम्मेवारीपूर्वक प्रयोग गर्दै संसद्मा सुशासन, पारदर्शिता र जनताको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए।

