काठमाण्डौ — इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका संयुक्त राज्य अमेरिकाका सैन्य अड्डाहरूलाई लक्षित गर्दै ठूलो आक्रमण गरेको दाबी गरेको छ।
इरानी सेनाले जारी गरेको विज्ञप्तिअनुसार इरानी नौसेनाले ठूलो लहरमा आक्रमण गर्दै अमेरिकी सैन्य अड्डा र इजरायलका रणनीतिक संरचनाहरूलाई निशाना बनाएको हो।
उक्त जानकारी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक न्यूज एजेन्सीमार्फत सार्वजनिक गरिएको थियो।
विज्ञप्तिमा संयुक्त अरब इमिरेट्समा रहेको अल–मिन्हाद सैन्य अड्डा तथा कुवेत स्थित अर्को अमेरिकी सैन्य अड्डालाई लक्ष्य बनाइएको उल्लेख गरिएको छ। साथै इजरायलको एक रणनीतिक संरचना पनि आक्रमणको निशानामा परेको इरानको दाबी छ।
यसैबीच इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले पनि संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा हवाई अड्डामा आक्रमण गरिएको जनाएको छ। अर्धसरकारी समाचार संस्थाहरूका अनुसार उक्त आक्रमणमा अमेरिकी वायुयुद्ध केन्द्र, उपग्रह सञ्चार केन्द्र, प्रारम्भिक चेतावनी रडार तथा फायर नियन्त्रण रडारलाई निशाना बनाइएको बताइएको छ।
यसअघि मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि हवाई आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको दाबी गरिएको छ।
त्यसयता इरानले इजरायल र क्षेत्रभर रहेका अमेरिकी हितहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा अन्य आक्रमणहरू जारी राखेको बताइएको छ। क्षेत्रीय युद्ध दोस्रो सातामा प्रवेश गर्दा मध्यपूर्वमा तनाव झन् बढ्दै गएको छ।

