काठमाण्डौ — दुर्गम जिल्ला हुम्लामा पहिलो पटक लिमिबाट प्रत्यक्ष चुनावमा महिला उम्मेदवार उठेकी जेन-जी नेतृ टासी लाजोमले चुनावी नतिजालाई हार नभई “पहिलो जित”को रूपमा लिएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेकी टासी लाजोमले बिना संगठन हुम्ला पुगेको यो आफ्नो पहिलो राजनीतिक यात्रा भएको उल्लेख गर्दै भौगोलिक कठिनाइ, सीमित स्रोत र पुरानो राजनीतिक संरचनाबीच पनि आफूले हिम्मत नहारेको बताएकी छन्।
उनका अनुसार चुनावी अभियानले हुम्लाको राजनीति, यहाँको बेथिति र जनताको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर दिएको छ। हुम्लाका सातवटै पालिकाबाट प्राप्त मतलाई उनले सम्मानका रूपमा लिँदै विशेष गरी नाम्खा गाउँपालिकाका मतदाताले देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छन्।
चुनाव जित्न नसके पनि हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएको उनको दाबी छ। “म यसलाई हार मान्दिनँ। आज चुनाव जित्न नसके पनि हुम्लामा नयाँ राजनीतिक संस्कारको सुरुवात भएको छ,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी छन् ।
टासीलाई हुम्लाका जनताबाट १,०६४ मत प्राप्त भएको छ। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देश तथा विदेशबाट सहयोग र समर्थन गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेकी छन्।
यसैबीच उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा पुगेपछि सुशासन कायम गर्ने, भ्रष्टाचारका मुद्दा उठाउने र प्रणाली सुधार गर्ने दायित्व अझ बढेको उल्लेख गर्दै हुम्लाबाट पनि त्यसको आवाज निरन्तर उठिरहने बताएकी छन्।
उनले लामो समयदेखि पार्टीको बलियो उपस्थिति नभएको हुम्लामा जनताको मनसम्म पार्टीको सन्देश पुर्याउन सफल भएको महसुस गरेको बताएकी छन्।

