काठमाडौं । एसियाली फुटबल महासंघको प्रतियोगिता एएफसी वुमन्स एशियन कप २०२६ का लागि अष्ट्रेलिया पुगेका इरानका पाँच महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले मानवीय शरण प्रदान गरेको छ।
राष्ट्रिय खेलअघि आफ्नो देशको राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि स्वदेश फर्के युद्धकालीन देशद्रोहीको आरोप लाग्ने जोखिम बढेपछि उनीहरूले शरण मागेका थिए। त्यसपछि अष्ट्रेलिया सरकारले उनीहरूलाई मानवीय भिसा प्रदान गरेको हो।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्वानिजले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा ती खेलाडीहरूको साहसप्रति सम्मान व्यक्त गरे।
उनले भने, “यी साहसी महिलाहरूको अवस्थाले अष्ट्रेलियालीहरूलाई निकै प्रभावित बनाएको छ। उनीहरू यहाँ सुरक्षित छन् र अष्ट्रेलियामा आफूलाई घरजस्तै महसुस गर्नुपर्छ।”
अष्ट्रेलियाको गृह विभागका अनुसार शरण पाउने खेलाडीहरूमा टोलीकी कप्तान जारा घनवारी, मिडफिल्डर फतेमेह पासान्दिदे, जारा सर्बली अलिशाह, मोना हमाउडी र डिफेन्डर अतिफेह रमेजानिजादेह रहेका छन्।
अष्ट्रेलियाका गृहमन्त्री टोनी बुर्केले बाँकी इरानी खेलाडीहरू अहिले गोल्ड क्वेस्टको एक होटलमा रहेको जानकारी दिएका छन्। उनले चाहेमा टोलीका अन्य सदस्यलाई पनि अष्ट्रेलियामा बस्ने अवसर दिइने बताए।
तर इरानी टोलीका अन्य खेलाडीहरूले भने शरण लिन अस्वीकार गर्दै स्वदेश फर्कने इच्छा व्यक्त गरिरहेका छन्।

