काठमाडौँ। फागुन २१ गते बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। केही निर्वाचन क्षेत्रको मतगणना मात्रै बाँकी रहेकाले बुधबार बिहानस नै सम्भवत सबै परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सङ्खुवासभा जिल्ला, धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ तथा गोरखा जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ र २ लगायत केही स्थानमा मात्र मतगणना जारी छ। यी क्षेत्रको गणना सकिएपछि समानुपातिकतर्फ सबै परिणाम सार्वजनिक गरिने तयारी गरिएको उनले बताए।
यसअघि नै प्रत्यक्षतर्फ अर्थात् पहिलो हुने निर्वाचित हुने प्रणालीको मतगणना भने सम्पन्न भइसकेको छ।
समानुपातिकतर्फ १ करोड ७ लाखभन्दा बढी मत गणना
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० बजेसम्मको विवरणअनुसार समानुपातिक प्रणालीतर्फ कूल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसकेको छ।
हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ। सो पार्टीले ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४ मत, नेकपा एमालेले १४ लाख ४७ हजार ६६४ मत, तथा नेपाल कम्युनिष्ट पार्टीले ८ लाख २ हजार ७४३ मत प्राप्त गरेका छन्।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७, जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४४४, तथा जनमत पार्टीले ७८ हजार ९२७ मत प्राप्त गरेका छन्।

