नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति महेन्द्र राजमार्गमा दुर्घटना भएको हो। सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा अन्य सवारीसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र सोही मोटरसाइकलमा सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।
त्यसैगरी यात्रुबाहक बसमा सवार अन्य छ जना पनि घाइते भएका छन्। घाइते हुनेहरूमा स्मृति गाउँपालिका–४ का बस चालक शंकर विष्ट, मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी जिल्ला–५ का चन्द्रसिंह थापा तथा स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।
घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

