काठमाडौं। नेपालमा हाल पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली तथा देशको पूर्वी भाग नजिक बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि देखिने सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

