काठमाण्डौ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्स क्षेत्रमा मंगलबारदेखि बाघ गणना सुरु गरिएको छ।
निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु गरिएको हो।
नेपालमा प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ। यसपटक उक्त क्षेत्रमा पाँचौँ पटक क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना गरिँदैछ।
बाघ हिँडडुल गर्ने सम्भावित मार्ग पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको निकुञ्जले जनाएको छ। क्यामेराले खिचेको तस्बिरका आधारमा बाघको शरीरमा देखिने विशिष्ट पाटाको तुलना गरी संख्या निर्धारण गरिन्छ।
बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली खटिएको छ भने आवश्यक परे हात्तीसमेत परिचालन गरिने निकुञ्जले जनाएको छ।
११ वटा क्याम्पमा जनशक्ति परिचालन गर्दै २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको संरक्षण अधिकृत वाग्लेले बताए। प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा राखिने व्यवस्था गरिएको छ।
निकुञ्जका अनुसार आलिताल, वेदकोट, बनखेडा, चिर्किट्टे, डाँडाजाइ, दोमिल्ला, कालिकिच, कुवा डाँडा, नौला, शुक्ला र तिकेनी लगायतका क्षेत्रमा ग्रिड छुट्याएर क्यामेरा जडान छन् ।
सन् 2022 नेपाल नेशनल टाईगर नेक्ससका अनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेको थियो। तर निकुञ्जको पछिल्लो आन्तरिक सर्वेक्षणमा बाघको संख्या बढेर ४३ पुगेको अनुमान गरिएको छ।
करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँट नेपालमा कम क्षेत्रफलमा पनि धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ। यहाँ बाघका आहार प्रजाति पर्याप्त भएकाले पछिल्ला वर्षहरूमा बाघको संख्या उल्लेख्य रूपमा बढ्दै गएको संरक्षणकर्मीहरू बताउँछन्।

