काठमाण्डौ। पर्यटकीय सहर पोखरामा विद्युतीय तार भूमिगत गर्ने परियोजना तीन तीनपटक म्याद थप्दा पनि अपेक्षित गति लिन सकेको छैन।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ६७ प्रतिशत पुगेको छ।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार गत सेप्टेम्बरमा ठेक्काको म्याद फेरि थपिए पनि आगामी जुन ३० भित्र परियोजना सम्पन्न हुने सम्भावना न्यून देखिएको छ।
उनले बर्खायाममा निर्माण कार्य प्रभावित हुने भएकाले आयोजना आगामी हिउँदसम्म लम्बिन सक्ने बताए।
यो आयोजना विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा दिइएको भए पनि वास्तविक निर्माण कार्य भने २०८० वैशाखबाट सुरु भएको थियो। सुरुमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भएको र त्यसपछि पनि प्रगति अपेक्षित रूपमा अघि बढ्न नसकेको आयोजनाले जनाएको छ।
भारतीय कम्पनी टाटा प्रोजेक्सले पोखरा र भरतपुरमा तार भूमिगत गर्ने काम करिब रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको हो। यसमध्ये पोखरामा मात्रै करिब रु एक अर्ब ३० करोड खर्च हुने बताइएको छ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरण सुरु भइसकेको छ। अहिले सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, जिरो किलोमिटर र लेकसाइडको जरेबर क्षेत्रमा काम जारी रहेको आयोजनाले जनाएको छ।
यस परियोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किलोमिटरसम्मको मुख्य राजमार्ग तथा सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा लगायत क्षेत्रमा विद्युत् तार भूमिगत गरिनेछ।
विद्युत् लाइनसँगै टेलिफोन, केबल तथा इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि जमिनमुनि बिछ्याइने योजना छ।
परियोजनामा ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरेर सडकमा कम क्षति पुर्याई तार भूमिगत गरिँदै आएको छ।
विद्युतीय तार भूमिगत भएपछि अव्यवस्थित पोल र तारबाट मुक्ति मिल्ने, सहरी सौन्दर्य बढ्ने तथा विद्युत् आपूर्ति थप भरपर्दो हुने विश्वास प्राधिकरणले लिएको छ।

