काठमाडौं। नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमध्ये पछिल्लो समय जापान पहिलो रोजाइमा परेको छ। अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीको संख्या तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाएको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने नेपालीलाई दिने ‘पूर्वस्वीकृतिपत्र’ (नो अब्जेक्सन लेटर) को विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै जापान सबैभन्दा लोकप्रिय गन्तव्य बनेको हो।
गत साउनदेखि असोज मसान्तसम्म कुल २८ हजार ५८५ विद्यार्थीले मन्त्रालयको भक्तपुरस्थित शाखाबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। तीमध्ये ९ हजार ४५३ विद्यार्थी जापान जान स्वीकृति लिएका छन् भने अस्ट्रेलियाका लागि ७ हजार ७३० र बेलायतका लागि ४ हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन्।
मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका प्रमुख वीरेन्द्रजंग थापाका अनुसार जापानी भाषा सिकेपछि पढाइसँगै काम गर्ने अवसर सहज हुने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो। उनले हालै भएको जापानी भाषा परीक्षाका कारण पनि पछिल्ला दिनमा जापान जाने विद्यार्थीको संख्या बढेको बताए।
गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ देश का लागि कुल १ लाख २३ हजार ५८९ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि स्वीकृति लिएका थिए। त्यसमध्ये सबैभन्दा बढी ३९ हजार ८४७ विद्यार्थी जापान गएका छन्।
त्यसपछि क्रमशः बेलायतका लागि २७ हजार ४७५, अस्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरियाका लागि ९ हजार ७५७ र अमेरिकाका लागि ८ हजार ८७० विद्यार्थीले स्वीकृति लिएका छन्।
अध्ययनका विषयका आधारमा भने सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन (म्यानेजमेन्ट) विषयमा आकर्षित भएका छन्। गत आर्थिक वर्षमा मात्रै १ लाख १६ हजार ७८० विद्यार्थीले व्यवस्थापन विषय अध्ययनका लागि पूर्वस्वीकृति लिएका छन्। त्यसपछि सूचना प्रविधि (आईटी)मा ३० हजार ७४४, विज्ञान विषयमा २० हजार ६७४ र हस्पिटालिटी क्षेत्रमा १४ हजार २३ विद्यार्थी रहेका छन्।
विद्यार्थीलाई विदेश अध्ययनका क्रममा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले विश्वविद्यालय तथा कलेजको आधिकारिकता पहिचान गर्न सहज हुने गरी सूची अद्यावधिक गरेको जनाएको छ।
यस क्रममा टाइम्स हाइएर एजुकेसन तथा क्यु एस वर्ल्ड युनिभर्सिटी र्यांकिङको वरियतामा रहेका विश्वविद्यालयहरूको विवरणसमेत अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ।

