काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियान बीच टेलिफोन वार्ता भएको छ। उक्त वार्ता मुख्यतः मध्यपूर्व क्षेत्रमा जारी युद्ध र क्षेत्रीय तनावबारे केन्द्रित रहेको जनाइएको छ।
मंगलबार राति भएको फोन कुराकानीका क्रममा राष्ट्रपति पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्। रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार पुटिनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।
वार्ताका क्रममा राष्ट्रपति पेजेश्कियानले इरानलाई दिएको समर्थन तथा मानवीय सहयोगका लागि रुसप्रति धन्यवाद व्यक्त गरेका थिए।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग टेलिफोनमा कुराकानी गरेको बताएका थिए। ट्रम्पका अनुसार उक्त संवादमा इरानसँग सम्बन्धित युद्ध र रुस–युक्रेन युद्धको अवस्थाबारे छलफल भएको थियो।
ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन्। तर उनले पुटिनलाई युक्रेन युद्ध अन्त्य गराउन सहयोग गरे त्यो अझ महत्वपूर्ण हुने बताएका थिए।
ट्रम्पका अनुसार उनले पुटिनलाई भनेका थिए, “यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ।”
यसैबीच फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनी सहित केही शीर्ष नेताहरू मारिएका थिए। त्यसपछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरेको छ।
रुसी राष्ट्रपति पुटिनले सोमबार मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनेकोमा बधाई दिएका थिए। तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने नयाँ नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मोज्तबा खामेनीलाई धेरैले नचिनेको व्यक्तिका रूपमा टिप्पणी गरेका छन्।

